रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, राजनीतिक समीक्षा र कार्यदल पुनर्गठन मुख्य एजेन्डा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका विभिन्न कार्यदलहरूको विस्तार तथा आगामी निर्वाचन लक्षित तयारीबारे महत्वपूर्ण निर्णय हुने कार्यक्रम तय भएको छ।

बैठकमा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दाको कानुनी अवस्थाबारे समेत विस्तृत जानकारी दिने तयारी गरिएको पार्टी जनाएको छ। यस्तै, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा तथा सो बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची समावेश गरिएको छ।

वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदलका संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने तथा मिडिया अध्ययन कार्यदल गठन गरी अहिलेबाटै निर्वाचनसम्म दैनिक मिडिया अध्ययन, विश्लेषण र नियमित ब्रिफिङ गर्ने व्यवस्था मिलाउने तयारी बैठकको एजेण्डामा रहेकाे छ।

यससँगै राजनीतिक दल–समूह र शक्ति केन्द्रहरूको गतिविधिको नियमित अध्ययन र विश्लेषण गर्ने उद्देश्यले राजनीति अध्ययन कार्यदल पनि गठन गरिनेछ। उम्मेदवार छनौट सिफारिस समिति विस्तार तथा रूपन्देही–३ का उम्मेदवारबारे पनि बैठकमा निर्णायक छलफल हुने बताइएको छ।

राजनीतिक दल–संगठन अध्ययन कार्यदल गठन तथा जेन(जी युवा लक्षित अभियानको रणनीति कार्यान्वयनबारे पनि बैठकमा छलफल हुने कार्यसूचीमा समावेश गरिएको छ।