युवा नेतृत्व विकास र संगठन सुदृढिकरणमा जोड दिने रास्वपाकाे निर्णय


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ३ गते बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले समसामयिक राजनीतिक परिस्थिति, आगामी निर्वाचन रणनीति, संगठनात्मक तयारी तथा युवामुखी कार्यक्रमहरूबारे विस्तृत रूपमा निर्णय गरेको हो।

बैठकमा जेन-जी पुस्ताले राजनीति क्षेत्रमा ल्याएका परिवर्तनीय हस्तक्षेप र त्यसपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन तथा समृद्धिसँग सम्बन्धित नागरिक आकांक्षालाई सम्बोधन गर्न ‘उच्च संवाद समिति’ लाई सक्रिय रूपमा संवाद प्रक्रिया अघि बढाउने निर्देशन दिइएको छ। उक्त समितिको संयोजक उपसभापति डा. स्वर्णिम वाग्ले रहेका छन्।

साथै सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारले दायर गरेको मुद्दाको कानुनी अवस्थाबारे पनि बैठकमा जानकारी गराइएको थियो। केन्द्रीय समितिको विस्तारित बैठकको समग्र समीक्षा गर्दै चितवनमा गरिएको व्यवस्थापन, सहभागी प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीय तहको सहयोगप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ। विस्तारित बैठकमा पेश भएका राजनीतिक तथा संगठनात्मक प्रतिवेदनहरू समेत छलफलसहित पारित गरिएको छ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट कार्यलाई सुदृढ बनाउन सह–महामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ। समितिमा विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की, राजन गौतम तथा सातै प्रदेशका सभापति पदेन सदस्य रहने निर्णय भएको छ। रुपन्देही–३ का लागि भने पहिले नै चयन भइसकेका उम्मेदवार यथावत् रहनेछन्।

त्यस्तै पार्टीले निर्वाचन लक्षित वाचापत्र (म्यानिफेस्टो) तयार गर्ने कार्यदलमा क्रान्तिशिखा धिताललाई थप गरेको छ। संविधान परिमार्जन कार्यदलको नाम परिवर्तन गरी ‘संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल’ राखिएको छ भने यसको संयोजकका रूपमा सोबिता गौतमलाई जिम्मेवारी दिइएको छ।

पार्टीले आगामी निर्वाचनका लागि ‘राजनीति अध्ययन कार्यदल’, ‘निर्वाचन रणनीति कार्यदल’ तथा ‘मिडिया अध्ययन कार्यदल’ गठन गरेको छ। यी कार्यदलहरू राजनीतिक अध्ययन, रणनीति निर्माण तथा सञ्चार व्यवस्थापनका विषयमा कार्य गर्नेछन्।
युवाहरूमा बढ्दो राजनीतिक चेतना र जेन-जी पुस्ताको सक्रियताकालाई सम्बोधन गर्दै पार्टीले ‘Youth Nation-Building Academy’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

उक्त कार्यक्रममार्फत नेतृत्व विकास, संवैधानिक संरचना, सार्वजनिक अभिव्यक्ति कौशल र संसदीय प्रक्रियाबारे युवा पुस्तालाई आधारभूत तथा उन्नत ज्ञान प्रदान गरिने बताइएको छ। कार्यक्रमको संयोजकका रूपमा सोबिता गौतमलाई तोकिएको छ।

बैठकले सातै प्रदेश र ७७ जिल्लामा निर्वाचनमुखी विस्तारित बैठक आयोजना गर्ने, सबै तहमा समावेशिताको सिद्धान्तअनुसार रिक्त पद पूर्ति गर्ने तथा युवा सहभागिता बढाउन विशेष छलफल तथा संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।