काठमाडाैँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी दर्ता, उद्यमशिलता र उद्योग सञ्चालनका लागि अनुकूल वातावरण तत्काल आवश्यक रहेको बताएका छन्। राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले हाल नेपालमा राजनीतिक दल खोल्ने जस्तै वातावरण उद्योग र उद्यम स्थापना गर्न पनि निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
उपाध्यक्ष ढकालले जेनजी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, “जसरी दिनानुदिन नयाँ दलहरू खुलिरहेका छन्, त्यस्तै कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्छ।” केवल राजनीतिक दल खोलिँदैमा देश समृद्ध नहुने भन्दै उनले आर्थिक सुधार, उद्योग प्रवर्द्धन र उद्यमशिलतालाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्न दलहरूलाई आग्रह गरे।
आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्ने उनले बताए। राजनीतिक सोच मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
ढकालले देशका कानुन तथा प्रणालीहरू समयानुकूल नबनेका कारण नयाँ पुस्ताको क्षमतालाई सम्बोधन गर्न कठिनाइ भइरहेको बताए।
दुई ठूला मुलुकबिचको भौगोलिक अवस्थाले नेपाललाई रणनीतिक अवसर प्रदान गर्ने बताउँदै उनले देशको उपलब्ध स्रोत, सम्भावना र अवसरलाई उपयोग गर्दै समृद्धिको बाटो समात्न सकिने विश्वास व्यक्त गरे।
उनका अनुसार लगभग ४२ प्रतिशत युवा जनसंख्या रहेको नेपालले एआई, मेसिन लर्निङजस्ता आधुनिक प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै आर्थिक रूपान्तरण सम्भव छ। पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनशील सोचलाई एकसाथ अघि बढाउन सके मात्र नेपालले दिगो आर्थिक प्रगति हासिल गर्न सकिने उनले बताए।



प्रतिक्रिया दिनुहोस्