विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छः शिक्षामन्त्री पुन


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् ।

बुधवार त्रिभूवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

त्रिभूवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धि कानून ल्याउन लागेको पनि स्पष्ट पारे।

उनले सो सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरूसँग छलफल भइरहेको समेत जानकारी दिए । विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहनुभएको मन्त्री पुनले बताए ।

त्यस अवसरमा मन्त्री पुनले सो विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारले सो विश्वविद्यालयको अनुसन्धान केन्द्रहरुलाई देशको थिङ्क टयांकको रुपमा स्थापित गराउन चाहेको उनकाे भनाइ थियो ।