काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ श्रृंखलाको रुपैयाँ १०० दरको नोट बजारमा ल्याउने घोषणा गरेको छ।
आजदेखि सङ्केत नम्बर क २० ०००००१ देखि घ ४० ९९९९९९ सम्मका नोट प्रचलनमा आउने भएका हुन्। बैंकका अनुसार नयाँ नोट साविककै आकार र रङमा जारी हुँदैछ, साथै यसमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा वाक्यांश अंकित गरिएको छ।
नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप, नेपालको नक्सा र अशोक स्तम्भसँगै ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ लेखिएको छ। दृष्टिविहीनले छामेर पहिचान गर्न मिल्ने कालो थोप्ला पनि समावेश गरिएको छ।
बायाँपट्टि सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ। २ मि.मि. चौडाइको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने विशेषता भएको बताइएको छ। नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहनेछ। तल्लो भागमा नोटको सिरिज ‘वि.सं. २०८१’ उल्लेख छ।
नोटको पछाडिको भागमा ‘NEPAL RASTRA BANK’ लेखनसहित एकसिङे गैंडाको माउ र बच्चाको चित्र छ। तल्लो भागमा अंग्रेजीमा ‘RUPEES ONE HUNDRED’ र सिरिज वर्ष ‘2024 A.D.’ लेखिएको छ।
राष्ट्र बैंकले २०७६ साल असोज ७ गते सूचना प्रकाशित गरी २०१९ सिरिजका १०० दरका नोट सडेत नं. १८ ०००००१ देखि ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने जनाएकोमा पछि १८ ०००००१ देखि १९ ०३४५०० सम्मका नोट मात्र बजारमा ल्याइएको पनि स्पष्ट पारेको छ।




प्रतिक्रिया दिनुहोस्