काठमाडाैँ । नेपाल बिमा प्राधिकरणले भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीबारे अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा दर्ता भएका कूल ३ हजार २५५ ओटा दाबीमध्ये करिब रू. २३ अर्ब ४३ करोड ४१ लाख बराबरको दाबी प्राप्त भएको थियो। यसमध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब रू. ४ अर्ब २ करोड बिमितहरूलाई भुक्तानी गरिएको छ।
प्राधिकरणमा प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार सम्पत्ति बीमातर्फ दर्ता भएका ६९५ दाबीका लागि दाबी रकम करिब रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिब रू. ३ अर्ब ९ करोड ४७ लाख भुक्तानी गरिएको छ। त्यस्तै मोटर बिमातर्फका २ हजार २९५ दाबीमध्ये करिब रू. ३ अर्ब ४४ करोड १० लाख दाबी रकममध्ये करिब रू. ८४ करोड ८५ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फका २०९ दाबीमध्ये करिब रू. ५५ करोड ४ लाख दाबी रकममध्ये करिब रू. ६ करोड ६९ लाख भुक्तानी भएको छ। परिवहन बिमातर्फ १२ दाबीका लागि करिब रू. १ करोड ६९ लाखमध्ये करिब रू. ४८ लाख र अन्य बिमातर्फका ४४ दाबीका करिब रू. ३९ करोड १८ लाखमध्ये करिब रू. ३९ लाख अग्रिम भुक्तानीसहित भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।
यससँगै, जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिमसहित दाबी भुक्तानी गरेको छ। पुनर्बिमा कम्पनीमा दर्ता भएका २ हजार ८६० दाबीमध्ये करिब रू. १५ अर्ब ८१ करोड बराबरको दाबी दर्ता भएको अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्