काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘लोन प्याकेज’ हरू पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
सोमबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूबाट बैंकका लोन सम्बन्धी प्रश्न उठेको उल्लेख गर्दै अब बैंकहरूले ती प्याकेजहरू प्रभावकारी ढंगले पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार अहिलेका बैंक प्याकेजहरू उद्योगी, व्यवसायी, कृषि तथा पर्यटन क्षेत्रमा काम गर्ने उद्यमीको आवश्यकता अनुरुप डिजाइ नभएकाले ऋण प्रवाह पर्याप्त नहुनु र बैंकमा पैसा थ्रुपिनु जस्ता समस्या देखिएका छन्।
गभर्नर पौडेलले भने, “कतिपय किसान र उद्यमीहरुले लोन प्रोडक्टहरू उनीहरूको आवश्यकता अनुरुप डिजाइ नभएको गुनासो गरेका छन्। त्यसैले बैंकका प्रबन्धकहरुले लोकल व्यवसायीलाई फोकस गरेर नयाँ फाइनान्सीयल प्रोडक्ट ल्याउनुपर्ने हुन्छ।”
गभर्नर पौडेलले आगामी हप्ता बैंकका सीईओहरुसँग छलफल गर्ने र बैंकका वर्तमान प्रोडक्टहरूकाे प्रभावकारिता समीक्षा गर्ने योजना रहेको जानकारी दिए।
उनले मौद्रिक नीति थप लचिलो बनाइएको हुँदा कृषि, पर्यटन लगायतका उद्यमी तथा व्यवसायीले ऋणका लागि सहजता पाउने र कुनै उद्योगी वा व्यवसायीलाई राष्ट्र बैंकको नीतिका कारण समस्या नपर्ने समेत स्पष्ट पारे ।
त्यसैगरी, राष्ट्र बैंकले महानगर क्षेत्रमा शाखा खोल्न र बन्द गर्न बैंकहरूलाई स्वतन्त्रता दिएको छ। गभर्नर पौडेलले यसले बैंकहरूलाई नाफा बढाउने र मुनाफा खुलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्