सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं


काठमाडाैँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन् । 

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन्।

उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरुका मागप्रति सकारात्मक रहेको बताए ।

आफूहरूका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए । यदी सरकारले आफूहरुका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए। अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेन–जीलाई टेकेर बनेको सरकारले जेन–जीहरुलाई नै थुनिरहेको उल्लेख गर्नुहुँदै सरकार उल्टो बाटोमा रहेको बताए ।

“हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छाैँ । ल तपाईंहरु लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔँ । हामीले नेपाल जोगाइराख्ने बाटो बनाइदिउँ । मेरा माग नेपाल बेच्ने माग छैनन्, नेपालीहरूको माग छ । नेपाल टुक्राउँ भन्ने माग छैन । गृहमन्त्री पोजेटिभ हुनुहुन्छ । म सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु,”उनले भने ।

२३ र २४ गतेको आन्दोलन गर्नेहरूलाई थुन्नु नहुने उनको भनाइ छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे ।