उँधौली पर्व मनाउँदै किराँत समुदाय


काठमाडाैँ । किराँत समुदायले बिहीवार देशभर उँधौली पर्व हर्षोल्लासका मनाउँदैछन् । 

हरेक वर्ष मंसिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ । अन्नबाली भित्र्याएपछि पूर्खाहरुलाई चढाउने र खुशीयाली मनाउन किराँत समुदायले उँधौली पर्व मनाउने गरेका छन् ।

किराँत राई केन्द्रिय कार्यसमितिका सल्लाहकार मणिककुमार राईले वैशाखको उँभौली पर्वमा अन्नबाली लगाएर आर्शिवाद माग्ने र उँधौली पर्वमा अन्नबाली भित्र्याएर पूर्खाहरूलाई चढाउने गरिएको जानकारी दिए ।

उनकाअनुसार उँधौलीमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गरिन्छ ।

कतिपयले पितृलाई चढाएपछि मात्रै नयाँ अन्नबाली खाने गरेको पनि उनले जानकारी दिए । उनले किराँत कुल घरमा राईको चुल्हा, लिम्बूहरूको सात तल्ले, सुनुवारहरूको चुल्हा र त्रिसुल, याख्याचुम्बाहरुको यावू राखिएको हुने र त्यसलाई पूजा गरी उँधौली÷उभौली मनाईने गरेको बताए । 

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उँधौली पर्व परम्परागत भेषभुषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गरेका छन् । उपत्यकाको ललितपुरमा पनि बिहीवार हर्षोल्लासका उँधौली पर्व मनाइएको छ ।