काठमाडाैँ । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ । करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिष्पर्धामा छन् । उनीहरूले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक सङ्ख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् ।
वल्र्डलिङ्क, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वल्र्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
प्राधिकरणकाअनुसार असोजसम्ममा बजार हिस्साको हिसावले वल्र्डलिङ्कका सबैभन्दा ग्राहक छन् । वल्र्डलिङ्कका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिङ्क पछिको डिस होम हो ।
डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ ।
बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक सङ्ख्या पुर्याएको छ ।
बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुविसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।
यस्तै बजार हिस्साको हिसावले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ ।
इन्टरनेट कम्पनीहरूले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरूले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरू गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्