काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको बताएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताएकी हुन् ।
उनले जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन् । जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिइन् ।
उनले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताइन् । उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्