चिनियाँ राजदूत र कृषिमन्त्रीबिच भेटवार्ता, के भयाे कुराकानी ?


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियार र नेपालस्थित राजदूत चेन सङबिच द्विपक्षीय बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा मन्त्री परियारले नेपाल–चीनबिचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने नेपालको प्रतिबद्धता व्यक्त गरे।

उनले आधुनिक, दिगो र जलवायु–मैत्री कृषि प्रणालीको विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार विस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि अत्यन्त मूल्यवान् रहेको उल्लेख गरे।

मन्त्री परियारले विभिन्न प्रोटोकल, अवधारणा–पत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको बताए।

उनले नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यस्तै, राजदूत चेन सङले बैठक समस्या–रहित र अत्यन्त सकारात्मक वातावरणमा सम्पन्न भएको बताएका छन्। उनले भविष्यका लागि प्राथमिकतामा रहेका क्षेत्रहरू कृषि पार्क स्थापना, हाइब्रिड धान र आलुका बीउ उत्पादन, उच्च उत्पादन क्षमताका मकैका जातहरूको प्रवर्द्धन र खाद्य प्रशोधन उद्योग विकासलाई विशेष प्राथमिकताका रूपमा उल्लेख गरे।

दुवै पक्षले प्राविधिक सहयोग, लगानी र ज्ञान आदान–प्रदानको महत्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकोमा सहमति जनाए।