काठमाडौँ । राष्ट्रिय कर दिवस २०८३ का दिन सरकारले विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्छ । यसमा ‘वस्तु व्यापारको कारोबार’ गर्नेमध्ये बढी आयकर दाखिला गर्नेमा भाटभटेनी अग्रस्थानमा रहँदै आएको थियो ।
यसपटक कर दिवसको पूर्वसन्ध्यामा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले आफू निकटलाई सुनाए,“यसपटक हामीलाई नदिने (वस्तु व्यापारको कारोबार गर्नेमध्ये बढी आयकर दाखिला गर्ने सम्मान ) भए ।”
भदौ २३,२४ को जेनजी आन्दोलनकाक्रममा काठमाडौँको मुख्यसहित विभिन्न आउटलेटहरूमा ठुलो क्षति पुगेको थियो । यसले भाटभटेनीको खर्चमात्रै बढेको थिएन बिक्री पनि स्वाभाविक रूपमा घटेको थियो ।
यसै पृष्ठभूमिमा गुरुङले आफू निकटसँग आफ्नो विधा अन्तर्गतको‘उत्कृष्ट करदाता’को सम्मान नपाउने गुनासो गरेका थिए । यो सोमबारको प्रसँग थियो । सरकारले आज (मङ्गलबार) आजमात्रै उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
गुरुङलाई बिगमार्ट वा सी.जी एम्पेक्स प्रा.लि.ले यो सम्मान पाउने अनौपचारिक जानकारी पुगिसकेको थियो । त्यसैले उनलाई यो छटपटी भएको थियो ।
गुरुङ निकट स्रोतकाअनुसार ‘आन्दोलनका कारण व्यवसायमा ठुलो क्षति पुगेको र बिक्री घट्दा आयकर कम हुनु स्वाभाविक भएको’ भनेर उच्च व्यवस्थापकहरूले सम्झाउने प्रयास गरेका थिए । यो गुनासो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र आन्तरिक राजस्व विभागका अधिकारी समक्ष पनि पुगेको थियो ।
यसै गुनासोको पृष्ठभूमिमा भाटभटेनी सुपरमार्केटलाई ‘प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उत्कृष्ट करदाता’ विधामा सम्मान गरिएको छ ।
भाटभटेनीले पाउँदै आएको ‘वस्तु व्यापारको कारोबार’ गर्नेमध्ये बढी आयकर दाखिला गर्ने ‘ताज’ सिजी इम्पेक्स प्रा.लि.को भागमा परेको छ । यससँगै सी.जी.ग्रुप अन्तर्गतको कम्पनी पहिलोपटक सबैभन्दा धेरै कर तिर्ने सूचीमा परेको छ । यद्यपी पब्लिक कम्पनीमा रहेको नबिल बैंक भने उत्कृष्ट करदाताको रूपमा रहँदै आएको छ ।
सी.जी. इम्पेक्स उत्कृष्ट करदाताको सूचीमा परेपछि चौधरी ग्रुप यसपटक आलोचनाको घेराबाट जोखिने देखिएको छ । विगतमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनका कम्पनीले किन सबैभन्दा धेरै कर तिर्दैनन् भनेर ‘ट्रोल’ बन्ने गरेको थियो ।
ट्रोल बनेपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित नभए पनि आफ्ना कम्पनीले तिरेका कर भन्दै बाहिर ल्याउने गरेको थियो । यसपटक भाटभटेनी आन्दोलनको मारमा पर्दा सी.जी. इम्पेक्स प्रा.लि.लाई फाइदा भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्