काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बिमा कार्यक्रमको दायरालाई हालको पाँच लाख रुपैयाँबाट बढाएर १० लाखसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएका इलामका एक नागरिकलाई उद्धार गरी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा डा. शर्माले स्वास्थ्य बीमा कार्यक्रम सुधार आवश्यक रहेको औँल्याएका हुन्। उनले हाल स्वास्थ्य बीमाको पहुँच सीमित भएकोले नागरिकहरू उपचार नपाएर तड्पिरहेका रहेको र यस समस्या सरकारी स्तरबाटै समाधान हुनुपर्ने बताए ।
उनका अनुसार संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरी स्वास्थ्य बिमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्ने विषय उठाइसकेको छ। डा. शर्माले वर्तमान सरकारले यसबारेमा उचित कदम चाल्नुपर्ने पनि जोड दिनुभयो।
डा. शर्माले भने,“नेपालीहरूकाे अवस्था यस्तो छ कि स्वास्थ्य बिमालाई पाँचदेखि १० लाखसम्म पुर्याउनैपर्छ। मैले सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिसकेको छु। अहिलेको सरकारसँग पनि अनुरोध छ, लाखौं नेपाली जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारी पहल हुनुपर्छ। दुई–चार हजार व्यक्ति मात्र बोकेर समाधान हुँदैन, राज्यको नीति नै यस समस्याको हल हुनुपर्छ।”
शर्माले आगामी दिनमा एक हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए शुक्रबारको उद्धारमा पुलमुनि बस्दै आएका ती नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकिएको भन्दै उनलाई केएमसी अस्पतालमा लगेका र उपचार सुरु गरिसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्