हरिकाे ‘सेभेन समिट’ अभियानका लागि मिरुल ग्लोबल ग्रुप फाउन्डेशनद्वारा १०० रूपैयाँ सहयोग अभियान सुरू


काठमाडाैँ । अफ्गानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका रोल्पा थबाङ गाउँपालिका वडा नम्बर ३ का हरि बुढामगर विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्यसहित ‘सेभेन समिट’ अभियानमा अघि बढिरहेका छन्।

अपांगता भएका व्यक्तिहरूका लागि प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित उनले ‘गरे असम्भव केही छैन’ भन्ने विश्वासमा आधारित यो अभियानलाई निरन्तरता दिँदै आएका छन्।

हालसम्म उनले एसियाको सगरमाथा, दक्षिण अमेरिकाको एकोनाकागुवा, उत्तर अमेरिकाको डेनाली, अफ्रिकाको माउन्ट किलिमान्जारो, युरोपको माउन्ट एल्बुस र अष्ट्रेलियाको कारस्टेन्स पिरामिड गरी ६ वटा महादेशका हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्। अब उनले अन्तिम महादेश एन्टार्कटिकाको माउन्ट विन्सन यही पुस महिनामै आरोहण गर्ने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।

उक्त अभियानलाई सहयोग पुर्‍याउन विश्वभर छरिएर रहेका नेपालीहरूबाट करिब १ पाउन्ड सहयोग सङ्कलन भइरहेको अवस्थामा, मिरुल ग्लोबल ग्रुप फाउन्डेशनले देश–विदेशमा रहेका मिरुलबासी, थबाङ गाउँपालिकाका नागरिक, रोल्पाली तथा सम्पूर्ण नेपालीहरूलाई १०० रूपैयाँ सहयोग अभियानमा सहभागी हुन आग्रह गरेको छ।

फाउन्डेशनका महासचिव जीवन प्रवेश रोकामगरका अनुसार एकजनाबाट १००, सयौँबाट हजारौँ र हजारौँबाट लाखौँ भन्ने भावना सहित अधिकभन्दा अधिक नेपालीको सहभागितामार्फत अभियानमा सहयोग जोड्ने उद्देश्य रहेको छ। उनका अनुसार धेरै व्यक्तिको सानो योगदानले हरि बुढामगरको ऐतिहासिक आरोहण प्रयासका लागि महत्वपूर्ण आधार बन्नेछ।

सहयोगका लागि निम्न बैंक खातामा रकम जम्मा गर्न फाउन्डेशनले आग्रह गरेको छ।
Name: Hari Bahadur Budha Magar
Account No.: 11009388130015
Bank: Himalayan Bank, Satdobato Branch