काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका मनाउँदैछन् ।
आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिकाअनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले बताएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् । आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ ।
पौराणिक कथाअनुसार यमुनाले यमराजलाई भेट्न बोलाएको दिनलाई सम्झना गर्दै यो पर्व मनाइन्छ, जसले दाजुभाइ र दिदीबहिनीको प्रेमलाई अटल राख्ने विश्वास छ । पौराणिक कथाअनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा यमुनाले यमराजलाई आफ्नो घरमा निम्तो दिएकी थिइन्। यमुनाको निम्तो स्वीकार गरी कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बहिनीका घरमा बसी रमाइलो गर्दै भाइटीका लगाएका हुनाले यस समयलाई यमपञ्चक भनिएको हो ।
आफ्नी बहिनीको सत्कारबाट निकै प्रसन्न भई सूर्यका छोरा यमराजले ‘के वर माग्छ्यौ, माग’ भन्दा यमुनाले ‘प्रत्येक वर्ष यसै समयमा मलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति सर्वदा वृद्धि होस्’ भनी वरदान मागिन्। यमराजले पनि बहिनी यमुनालाई ‘तथास्तु’ भनी वरदान दिए। यही पौराणिक कथनअनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारमा भाइटीका लगाउने परम्परा चलेको मानिन्छ ।
आज नेपालमा भाइटीकाको शुभ साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। स्थान विशेषका कारण विदेशमा भने टीकाको साइत फरक पर्न सक्दछ। टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्दछ भने लगाइदिने दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्दछ।


प्रतिक्रिया दिनुहोस्