विदेश पलायनले कृषिलाई कमजोर बनाउँदै लगेपछि नयाँ नीतिगत सोच आवश्यक छ: मन्त्री परियार


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले विदेश पलायन हुँदै गएको जनशक्तिले नेपालको कृषि क्षेत्रलाई कमजोर बनाइरहेको अवस्थामा अब राज्यले नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताएका छन्।

नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभामा उनले युवालाई स्वदेशमै रोजगारी र सम्भावना देखाउने नीतिगत पहल नगरेसम्म कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्ने स्पष्ट पारे। उनका अनुसार ठूलो संख्यामा युवा विदेशिँदा खेतबारी बाँझो हुने, उत्पादन लागत बढ्ने र आत्मनिर्भर कृषि लक्ष्य कमजोर बन्दै गएको छ।

यही यथार्थलाई आधार मानेर सरकारले अब विदेश पलायन रोक्ने मात्र नभइ विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने खालका नीति, सेवासुविधा र संरचना विकास गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।

मन्त्री परियारले कस्तो किसिमको नीति र सुविधा ल्याउँदा युवालाई कृषि व्यवसायतर्फ फर्काउन सकिन्छ भन्ने विषयमा गहिरो छलफल आवश्यक रहेको बताए।

आजको कार्यक्रममा उठेका सबै सुझाव र विषयलाई ध्यानपूर्वक अध्ययन गरी आगामी दिनमा कृषि मात्र होइन, समग्र उत्पादनशील क्षेत्रलाई बलियो बनाउने खालका नीतिगत निर्णय गरिने उनको भनाइ छ।

उनले यस्ता नीति संवाद कार्यक्रमले सरकार र सरोकारवालाबिच समन्वय बढाउने र व्यवहारिक, तथ्यमा आधारित नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।