काठमाडौँका बजारमा बिक्री हुने फलफूल र तरकारीमा खाद्य विभागको विषादी परीक्षण, नतिजा अनुकूल


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका विभिन्न फलफूल र तरकारी बजारमा बिक्री वितरण हुने खाद्य पदार्थको विषादी अवशेष परीक्षण गरेको छ।

विभागले गत मंसिर २६ गते राति १०ः०० बजे देखि २७ गते बिहान ४ः०० बजेसम्म जगाती नाका, भक्तपुर हुँदै भित्रिएका ९ वटा सवारी साधनबाट फलफूल र तरकारीका नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा परीक्षण गरेको जनाएको छ।

परीक्षणमा सङ्कलित खाद्य पदार्थमा टमाटर, सुन्तला, फर्सी, हलुवाबेद, हरियो मटर, कोसा, स्कुस, धनियाँ, रायो साग र आलु रहेका थिए। यी खाद्य वस्तुहरू पाँचखाल, काभ्रे, रामेछाप, दोलखा र रोशी बाट आएर काठमाडौंका कालीमाटी, जडिबुटी, ग्वार्को, वानेश्वर, बागबजार र बल्खु बजारमा बिक्री हुने देखिएको छ।

परीक्षणको प्रारम्भिक नतिजा अनुसार सङ्कलित नमुना अनुकूल रहेको जनाएको छ। विभागकी प्रवक्ता डा.बाल कुमारी शर्माले नागरिकहरूलाई ताजा फलफूल र तरकारी सुरक्षित रूपमा प्रयोग गर्न सकिने जानकारी दिइन् ।