काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेनजी समूहबिच भएको सम्झौतापछि निजी क्षेत्रमा आक्रमण गर्नेहरू कारबाहीबाट बाहिर नजानु गम्भीर चिन्ताको विषय रहेको बताएका छन् ।
बुधवार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा ढकालले केही समयअघि जेनजी समूह र सरकारबिच भएको सम्झौतापछि तोडफोड, आगजनी र लुटपाट गर्ने व्यक्तिहरू कारबाहीको दायरामा नपर्ने आशंका निजी क्षेत्रमा बढेको बताएका हुन् । उनका अनुसार त्यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनैपर्छ, नत्र निजी क्षेत्रको मनोबल बढाउन सकिँदैन।
अध्यक्ष ढकालले भने, “केही समयअघि जेनजी र सरकारबिच सम्झौता भयो। त्यस सम्झौताले कतै तोडफोड, आगजनी वा लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने संशय निजी क्षेत्रमा पैदा भएको छ। लगानीका लागि विश्वास नजागेसम्म रोजगारी सिर्जना र राजस्व वृद्धिको अपेक्षा गर्न सकिँदैन। दुःखको कुरा, नेपालमा निजी क्षेत्रको योगदानको सट्टा नकारात्मक कमेन्ट बढी देखिन्छ। निजी क्षेत्र रोजगारदाता हो, राजस्व तिर्ने क्षेत्र हो, पूर्वाधार निर्माण र सेवा प्रदान गर्ने क्षेत्र हो। हामीले आम जनतालाई यो सन्देश पुर्याउनैपर्छ।”



प्रतिक्रिया दिनुहोस्