नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायलाई प्रदान गरेको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नाइमाले आवश्यक सामग्री तथा पूर्वाधार पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराएको हो।
मङ्गलबार नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित निकायलाई सहयोग हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए । सो सहयोगकै कारण विभागले आफ्नै कार्यालयबाट पुनः नियमित सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै उनले नाइमाप्रति आभार व्यक्त गरे ।
यसैगरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा सदस्यस्तरको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारीको आधार निर्माण गरेको उल्लेख गर्दै ट्राफिक शिक्षा र व्यवस्थापनमा नाइमा भरपर्दो सहयात्रीका रूपमा स्थापित भएको धारणा राखे ।
कार्यक्रममा नाइमा अध्यक्ष वैद्यले सङ्कटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायलाई सानो भए पनि सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताइन् ।उनले सरकारी निकायसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल र ढोकाको पुनर्निर्माण गरिएको जानकारी दिए साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्