‘सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्नु सकारात्मक कदम भएको बताएको छ।

पार्टी प्रवक्ता मनिष झाले सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विगतमा सत्ता पक्ष भेट्न सिंहदरबार पुग्नु पर्ने अवस्था अन्त्य भएर अहिले सरकारले नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक संकेत भएको बताएका छन्। उनले यसले राजनीति र निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सहयोग गर्ने उल्लेख गरे।

प्रवक्ताले भने, “सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो। अहिले सरकारले पार्टी कार्यालयमा पुगेर सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहेको छ, त्यसलाई हामीले स्वागत गरेका छौं। निर्वाचनका लागि माहोल बनाउने तयारीको काम सरकारको प्रशंसा योग्य छ।”

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक कुनै विकल्प नभएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले एकमत भएर निर्वाचनमा जाने निर्णय गरेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचनलाई अन्तरिम सरकारले प्राथमिकताका रूपमा लिएको बताएका छन्।

उनले निर्वाचन नहुने हो भन्ने शंका नगर्न आग्रह गर्दै इतिहासमा पहिलोपटक सरकार राजनीतिक दलको कार्यालयमा पुगेको रेकर्ड भएको पनि बताए।