ठमेलमा यौनिक तथा अल्पसंख्यक समुदायको सामूहिक लगानीमा ‘चिलपिल जोन’ रेष्टुरेण्ट एण्ड बार सञ्चालन


काठमाडाैँ । ठमेलस्थित पकनाजोलमा ‘चिलपिल जोन’ रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ। बुधबार आयोजित एक समारोहबिच उक्त रेष्टुरेण्टको उद्घाटन गरिएको हो।

यो रेष्टुरेण्ट यौनिक र अल्पसंख्यक समुदायका व्यक्तिहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको हो। नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको सहकार्यमा सञ्चालित वारिस्ता तालिममा सहभागी भएपछि उनीहरूले सामूहिक लगानी गरेर रेष्टुरेण्ट स्थापना गरेका हुन्।

बोर्डले आयोजना गरेको तालिममा २४ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुले तालिम लिएका थिए।

रेष्टुरेण्टका सञ्चालक सुरेन्द्र पाण्डेले यौनिक तथा अल्पसंख्यक नागरिकलाई होटल व्यवसाय सञ्चालन गर्न पर्यटन बोर्डले सहयोग गरेको बताए।

उनले बेरोजगार व्यक्तिहरुलाई होटल क्षेत्रमा काम गर्न तालिमले मद्दत पुगेको पनि बताए। तालिमको आधारमा पाँच जनाले मिलेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्। रेष्टुरेण्टमा हाल तीन जनालाई रोजगारी दिइएको छ भने ३० जना बस्ने क्षमताको व्यवस्था गरिएको छ।

बाबुथुमी राईले तालिमपछि साथीहरूसँग मिलेर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए। उनले अन्य स्थानमा जागिर पाउन सहज नभएको हुँदा यो कदम चालिएको पनि बताए। राईले आफ्नो इच्छा अनुसार यौन व्यवसाय नगरी वारिस्ता तालिम लिएका र पाँच जनाले ऋण लिएर रेष्टुरेण्ट सञ्चालनमा ल्याएको जानकारी दिए।

भविष्यमा शाखा विस्तार गर्ने योजना पनि रहेको उनले बताए। रेष्टुरेण्टमा सम्भव भएसम्म नेपालका उत्पादनलाई प्राथमिकता दिने प्रयास गरिने छ।

उद्घाटनले विश्वभरका यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु नेपालमा आउँदा सहज अनुभव गर्ने विश्वास गरिएको छ भने यस्ता समुदायका व्यक्तिहरुलाई रोजगारको अवसर पनि सिर्जना हुने अपेक्षा गरिएको छ।