काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता संसद पुनःस्थापना नभई निर्वाचन रहेको स्पष्ट पारेका छन्।
शुक्रबार तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गर्न गएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार, सभापति देउवाले निर्वाचनको वातावरण बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आग्रह गरेका हुन् ।
मन्त्री खरेलले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट रूपमा भन्नुभयो कि पार्टीको प्राथमिकता संसद पुनःस्थापना होइन, बरु निर्वाचन हो। उहाँले निर्वाचनको वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ र सुरक्षाको उचित व्यवस्था गर्नु पर्ने उहाँको चासो रहेको छ। साथै, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।”
सरकारले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचन तयारीका विषयमा भेटवार्ता निरन्तरता दिँदै आएको छ।
यसै क्रममा, प्रधानमन्त्री सुशीला कार्कीले पनि शनिबार सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्