पहिलो चरणमा रिज लाइन इनर्जीको आईपीओ आजदेखि निष्कासन


काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र दश प्रतिशत १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ छिटोमा पुस २८ र ढिलोमा माघ १२ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस १७ र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाले गोरखास्थित कम्पनी कार्यालय, प्रभु क्यापिटल कमलादी कार्यालय, प्रभु बैंकका छेपेटार र पालुङटार शाखा तथा कम्पनीको अनलाइन लिंकबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। पहिलो चरणको बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।