काठमाडाैँ । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले नयाँ खुलेका राजनीतिक दलहरूलाई कम्तीमा १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता राठौरले केही वर्षअघि मात्र स्थापना भएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नाम लिँदै स्थायित्व र निरन्तरताको परीक्षा दिन नसकेको टिप्पणी गरेका हुन्।
उनका अनुसार नेपाली काँग्रेस, नेकपा एमालेलगायत परम्परागत दलहरूले लामो संघर्षमार्फत जनतालाई अधिकार र विकास दिएको इतिहास छ।
नेता राठौरले नयाँ दलका नेताहरूले चर्का र ठूला कुरा गर्ने गरेको आरोप लगाउँदै पाँच वर्ष पनि पार्टी सञ्चालन गर्न नसकेकाहरूले शासनको कुरा गर्न नमिल्ने बताए । सबै नागरिकलाई राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै आफूहरूले दशकौँसम्म संघर्ष गरेको उनको भनाइ छ।
युक्रेनको उदाहरण दिँदै उनले पपुलिस्ट नेताको उदयले देशलाई कस्तो अवस्थामा पुर्यायो भन्ने कुरा नेपालका लागि चेतावनी भएको उल्लेख गरे। सहकारी ठग, दलाल र गैरजिम्मेवार प्रवृत्तिले देश चलाउन नसक्ने टिप्पणी गर्दै उनले नेपाली काँग्रेसले ८० वर्षको संघर्षबाट लोकतन्त्र, विकास र जनअधिकार सुनिश्चित गरेको दाबी गरे।
भ्रष्टाचार नियन्त्रण पूर्ण रूपमा हुन नसकेको स्वीकार गर्दै उहाँले वर्तमान वा भविष्यका सरकारहरूले पनि यो चुनौती सहजै समाधान गर्न नसक्ने धारणा राखे ।
पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका नेताहरूले अनावश्यक रूपमा चिच्याएर बोल्न आवश्यक नरहेको उनले बताए । फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धतर्फ जान सक्ने गम्भीर चेतावनी पनि नेता राठौरले दिए ।



प्रतिक्रिया दिनुहोस्