अनुदानित मल आपूर्तिमा ४ लाख ६६ हजार टनको टेण्डर, साढे ८८ हजार टन गोदाममा मौज्दात


काठमाडाैँ । आर्थिक वर्ष २०८२/८३ का लागि तोकेको अनुदानित रासायनिक मल आपूर्तिको वार्षिक लक्ष्य ६ लाख मेट्रिक टन रहेको छ। यसका लागि कुल २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ। जसअनुसार साउन १ देखि पुस १ गतेसम्मको अवधिमा हालसम्म ४ लाख ६६ हजार मेट्रिक टन मलका लागि टेण्डर भइसकेको छ।

मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत युरिया, डीएपी र पोटास मलको आपूर्ति भइरहेको छ। विवरणअनुसार हालसम्म कुल ३ लाख ३८ हजार ७८१.९५ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। यसमध्ये कृषि सामग्री कम्पनीमार्फत २ लाख ४३ हजार ४११.६५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ९५ हजार ३७०.३ मेट्रिक टन मल आपूर्ति भएको देखिन्छ।

मलको प्रकारअनुसार हेर्दा युरिया १ लाख ७० हजार २५९.६ मेट्रिक टन, डीएपी १ लाख ६० हजार ७९७ .२५ मेट्रिक टन र पोटास ७ हजार ७२५.१ मेट्रिक टन आपूर्ति भएको छ।

हाल देशभरका गोदाममा मौज्दात रहेको रासायनिक मलको मात्रा ८८ हजार ४८२.२ मेट्रिक टन पुगेको छ। यसमध्ये कृषि सामग्री कम्पनीको गोदाममा ६० हजार ८११.३५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा २७ हजार ६७०.८५ मेट्रिक टन मल रहेको छ। मौज्दातमा युरिया ४१ हजार ११५.४ मेट्रिक टन, डीएपी ४१ हजार ५५४ मेट्रिक टन र पोटास ५ हजार ८१२.८ मेट्रिक टन रहेको विवरणमा उल्लेख छ।

यस अवधिमा (गत आर्थिक वर्ष २०८१/८२ बाट बाँकी रहेको मौज्दातसहित) कुल २ लाख ९५ हजार ३४६.५५ मेट्रिक टन रासायनिक मल बिक्री वितरण भएको छ। युरियाको बिक्री १ लाख ५४ हजार ८०९.५ मेट्रिक टन, डीएपीको १ लाख ३२ हजार ४९२.४ मेट्रिक टन र पोटासको ८ हजार ४४.६५ मेट्रिक टन पुगेको छ।

त्यसैगरी हाल आन्तरिक तथा बाह्य मार्गमा रहेको रासायनिक मलको परिमाण ५९ हजार ८६३.४ मेट्रिक टन रहेको छ। यसमा युरिया ४४ हजार ५२७ मेट्रिक टन, डीएपी १५ हजार २७६.४ मेट्रिक टन र पोटास ६० मेट्रिक टन रहेको छ। मार्गस्थ मलमध्ये सबै परिमाण कृषि सामग्री कम्पनीमार्फत रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कृषि उत्पादनलाई सघाउन समयमै मल आपूर्ति सुनिश्चित गर्न आयात, ढुवानी र वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइँदैछ। यद्यपि किसानको मागअनुसार मल उपलब्ध गराउन अझै चुनौती कायम रहेको सरोकारवालाहरू बताउँछन्।