नयाँ वर्ष २०२६ को अवसरमा जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो


काठमाडाैँ । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनसँगै जनकपुरधाममा पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ।

नयाँ वर्ष धार्मिक स्थलमा मनाउने चाहनासहित आन्तरिक तथा भारतीय पर्यटकहरूको बाक्लो आगमन भएपछि शहरको धार्मिक तथा पर्यटकीय गतिविधि थप सक्रिय बनेको हो।

नयाँ वर्षको सुरुवात सुख, शान्ति र समृद्धिसँग होस् भन्ने कामनाका साथ पर्यटकहरू बिहानैदेखि जानकी मन्दिर, राम मन्दिरलगायत विभिन्न मठ–मन्दिरमा दर्शन तथा पूजापाठमा सहभागी भएका छन्।

धार्मिक स्थलहरूमा दिनभर दर्शनार्थीको भीड देखिएको छ भने जनकपुरधामका मुख्य सडकमा सवारी चापसमेत बढेको छ।

विशेषगरी भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ। महोत्तरीको जलेश्वर–भिठामोड र धनुषाको जटही नाकाबाट ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम प्रवेश गरेका छन्।

भारतीय नम्बर प्लेटका सवारी साधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा समेत चासो बढेको स्थानीय प्रशासनले जनाएको छ।

दर्शनार्थीहरूले पछिल्लो वर्ष नेपालले भोग्नुपरेको राजनीतिक अस्थिरता र चुनौतीको स्मरण गर्दै नयाँ वर्षले देशमा स्थायित्व, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्। धार्मिक आस्थासँगै देशको भविष्यप्रतिको आशा पनि जनकपुरधाममा व्यक्त भएको देखिन्छ।

नयाँ वर्षको अवसरमा पर्यटकको अत्यधिक आगमनले स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। होटल, रेस्टुरेन्ट, यातायात सेवा तथा साना व्यवसायमा चहलपहल बढेपछि व्यवसायीहरू उत्साहित देखिएका छन्।

व्यापारीहरूले यस्तो पर्यटकीय गतिविधिले जनकपुरधामको आर्थिक चलायमानता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।