काठमाडौँ । नेपाल अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ बजेसम्म अध्यक्ष पदमा उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सो अवधिसम्म उप्रेतीबाहेक अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
नाडाको ४९औँ वार्षिक साधारण सभा भने यसअघि नै गत पुस ९ गते सम्पन्न भइसकेको थियो। निर्वाचन कार्यतालिका सार्वजनिक नगरी साधारण सभा आह्वान गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले नाडालाई तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो। सो निर्देशनको पालना गर्दै नाडाले पुस २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
हाल नाडाभित्र सम्पूर्ण कार्यसमिति पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भइरहेको जनाइएको छ। नाडाका अनुसार अध्यक्षसहित अन्य पदाधिकारीहरू पनि निर्विरोध चयन हुने सम्भावना देखिएको छ।
निर्वाचनलाई सहमतिको माध्यमबाट टुंग्याउने नाडाको प्रयाससँगै यसपटकको कार्यसमिति चयन प्रक्रिया विवादरहित र सहज रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्