काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढि हुने बताएको छ ।
अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
गत आ.व. २०८१/८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको र विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्रलाई राष्ट्र बैंकले लिएको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएकाले आर्थिक वृद्धि औसतभन्दा बढी हुने प्रतिवेदनमा उल्लेख छ ।
“आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको छ । विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृिद्ध सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ,”प्रतिवेदनमा भनिएको छ ।
चालु आ.व.मा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनःनिर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको छ,” प्रतिवेदनमा थप भनिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव दुई, १२ दशमलव आठ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ ।
गत आवको मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ दशमलव पाँच प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५ दशमलव नौ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको छ ।
गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत रहेको जनाएको छ । २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव तीन प्रतिशत रहेको थियो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कूल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६ दशमलव छ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कूल निक्षेपमा यस प्रदेशको अंश ६५ दशमलव आठ प्रतिशत र कूल कर्जामा ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । –न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस्