४१ औं विश्व खाद्य दिवसः खाद्य सचेतनाका लागि महिनाव्यापी दिवस मनाइदै


काठमाडौं । आगामी अक्टोबर १६ तारिकमा मनाइने विश्व खाद्य दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । खाद्य सम्बन्धि जनचेतना जगाउने उद्देश्यले महिनाव्यापी रुपमा दिवस मनाइने भएको छ ।

खाद्यका लागि कृषि अभियानको नेतृत्वमा सरोकारवाला निकायहरुको संलग्नतामा महिनाभर १७ वटा विभिन्न कार्यक्रम गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यो वर्ष खाद्य दिवसको ४१ औं श्रंखला हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको कृषि विभागको मुख्य आयोजनामा खाद्य दिवसको मुल कार्यक्रम आयोजना हुनेछ भने बाँकी कार्यक्रम अभियानको संयोजनमा गरिने कार्यक्रम तय भएको आयोजकले बताएका छन् ।

यो वर्षको दिवसको नारा ‘हाम्रो पहल: सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ रहेको छ ।

विगत पाँच वर्षदेखि यसै गरी कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर यो वर्ष पनि भर्चुअल माध्यमबाट कार्यक्रम गर्न लागिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए ।

नेपालको खेतीपातीलाई खुट्टा टेकाउनका लागि, नीतिगत पहल सच्याउनको लागि विश्व खाद्य दिवसको अहम् भूमिका रहेको खाद्यका लागि कृषि अभियानका अभियानकर्ता कृषि विज्ञ डा. कृष्णपसाद पौडेलले बताए ।

विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत बहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानको सदस्य संस्था फियान नेपालकी प्रतिनिधी लक्ष्मी गुरुङले बताइन् ।

बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्रांगारिक कृषि अभ्यासको बारेमा र ७ नम्बर प्रदेशमा कोरोना संकट र गाउँबासीहरुको बसाईसराईको विषयमा छलफल हुने भएको छ ।

गत वर्ष पनि कोभिडको कारण भर्चुअल र भौति गरी मिश्रीत रुपमा कार्यक्रम गरिएको थियो ।