अस्थिर राजनीतिक प्रणालीका कारण विकास सम्भव छैन: मन्त्री खरेल


काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको बताए।

उनले अस्थिर राजनीतिक प्रणालीका कारण मुलुकमा ठोस परिवर्तन सम्भव नभएको उल्लेख गर्दै आफू मन्त्री भएपनि तीन महिनामा कुनै चमत्कार नहुने स्पष्ट पारे।

मन्त्री खरेलले भने, “जरो हेरेर जानुभयो भने हाम्रो राजनीतिक प्रणालीमा भीमसेन थापाको पालादेखि अहिलेसम्म आएको इतिहासमा कुनै प्रधानमन्त्रीले पूर्ण पाँच वर्ष देश चलाउन सकेका छैनन्। कसरी बन्छ देश? तीन महिनामा कायापलट हुन्छ? के ल्याउन सकिन्छ? म डे वनमै स्पष्ट थिएँ – म कुनै चमत्कार गर्न सक्दिन। केही गर्न सक्दिन फरक छ, तर दुःख त नदिउँ न।”

उनले वर्तमानमा रहेका अल्झनहरू समाधान गर्ने काममा सक्रिय रहने र आगामी दुई महिनाभर मन्त्रालयबाट हुने कुनै पनि अल्झनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप तयार गर्दा आवश्यक बुँदाहरू समेट्न सुझाव दिन सबैलाई आग्रह गरे। उनले संविधान संशोधनको विषयमा भने, कुनै पनि राजनीतिक दल यसबारे एकमत नभएको पनि उल्लेख गरे ।