काठमाडाैा । विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यालयहरूमा पठनपाठन निरन्तरता एउटा गम्भीर चुनौती बन्दै आएको छ।
बाढी, तातो लहर र शीतलहरजस्ता प्राकृतिक विपद्का कारण शैक्षिक सत्र बारम्बार अवरुद्ध हुने गरेको छ। उच्च जोखिमयुक्त क्षेत्रका विद्यालयहरू विपद्का समयमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग हुँदा लामो समयसम्म कक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना हुन्छ।
कतिपय अवस्थामा विद्यालय स्वयं नै विपद्बाट क्षतिग्रस्त हुने तथा आवतजावत कठिन हुँदा विद्यार्थीको सिकाइ प्रक्रिया ठप्प हुने गरेको देखिन्छ। समुदायको जलवायु उत्थानशीलता मापन सर्वेक्षणले यिनै अवस्थालाई शिक्षा क्षेत्रमा विद्यालयहरूको प्रमुख कमजोरी, अर्थात् ‘उत्थानशीलताको रिक्तता’ का रूपमा पहिचान गरेको छ।
विपद्का बेला विशेषगरी सीमान्तकृत समुदायका विद्यार्थीहरूको विद्यालय उपस्थिति झनै घट्ने गरेको तथ्यले समस्या अझ गहिरो बनाएको छ। यिनै चुनौतीहरूको विश्लेषण गर्दै प्राक्टिकल एक्शन नेपालले कैलाली, कञ्चनपुर र बर्दियाका १४ वटा विद्यालयमा ‘विद्यालयमा उत्थानशीलता’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबीच शिक्षाको मौलिक अधिकार सुरक्षित गर्ने लक्ष्यसहित अघि बढाइएको यो कार्यक्रम विपद् आइसकेपछि गरिने प्रतिकार्यभन्दा पनि विपद् आउनु अघि गरिने पूर्वतयारीमा केन्द्रित छ। बाढी वा अन्य सङ्कटका समयमा बालबालिकाको सिकाइ प्रक्रिया अवरुद्ध नहोस् भन्ने उद्देश्य परियोजनाको मूल केन्द्रमा छ।
परियोजनाले स्थानीय तहको शिक्षा शाखासँग सहकार्य गर्दै स्थानीय पाठ्यक्रममा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विषयवस्तु समावेश गर्न सहजीकरण गरेको छ। विद्यालय सुधार योजनामा पनि जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र उत्थानशीलतासम्बन्धी विषय समेट्ने काम अघि बढाइएको छ। यसका साथै पालिकाको शिक्षा शाखासँगको समन्वयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ।
‘विद्यालयमा उत्थानशीलता’ परियोजनाको प्रमुख रणनीतिक स्तम्भ विद्यार्थी सशक्तीकरण हो। विद्यार्थीलाई केवल सहयोगको आशा गर्ने समूहका रूपमा नभई ‘विपद् र उत्थानशीलताका अभियन्ता’ का रूपमा तयार पार्ने प्रयास भइरहेको छ। अन्तर–विद्यालयस्तरीय प्रतियोगितामार्फत कक्षा ६ देखि माथिका विद्यार्थीहरूलाई हाजिरीजवाफ, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापमा संलग्न गराइँदै आएको छ।
प्राक्टिकल एक्शनका वरिष्ठ कार्यक्रम अधिकृत रमेश गौतमका अनुसार यस्तो सहभागिताले विद्यार्थीलाई पुरस्कार जित्नेमात्र होइन, जीवन बचाउने ज्ञान र सीप आफ्नै घर र समुदायसम्म पुर्याउने अवसर पनि दिन्छ। अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूले जलवायु सचेतना, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सहकार्यको महत्व बुझ्ने अवसर पाएका छन्।
परियोजनाले विद्यालयका भौतिक पूर्वाधारलाई समेत विपद् उत्थानशील बनाउने काम गरिरहेको छ। बाढी उत्थानशील संरचना निर्माण, सुरक्षित निकास मार्गको व्यवस्था तथा विपद्का बेला विद्यालय भवन आश्रयस्थल बनेको अवस्थामा वैकल्पिक स्थानबाट तुरुन्तै कक्षा सञ्चालन गर्ने संयन्त्र विकास गरिएको छ।
यस्ता प्रयासले सुरक्षित सिकाइ वातावरण सिर्जना भई छात्रा तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूको उपस्थिति बढेको देखिएको छ। विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्य विस्तार हुँदै जाँदा जलवायु परिवर्तनका झट्कालाई सामना गर्न सक्ने उत्थानशील शिक्षा प्रणालीको खाका बन्दै गएको अनुभूति गर्न सकिन्छ।
यसैक्रममा जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव कम गर्न विद्यालयमा नयाँ प्रविधिको प्रयोग पनि थालिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित श्री जन नमुना माध्यमिक विद्यालयमा विद्यालयको छतमा ‘रिफ्लेक्टिभ पेन्ट’ प्रयोग गरिएको छ। सूर्यको प्रकाश र तापलाई परावर्तन गर्ने यो विशेष रङरोगनलाई ‘कूल रूफ टेक्नोलोजी’ पनि भनिन्छ। सामान्य रङले ताप सोस्ने भए पनि रिफ्लेक्टिभ पेन्टले ताप कम सोस्ने भएकाले कक्षाकोठाभित्रको तापक्रम घटाउन सहयोग पुग्छ।
प्राक्टिकल एक्शन, पेसवान, स्थानीय सरकार र विद्यालयको सहकार्यमा कञ्चनपुर, कैलाली र बर्दियाका विद्यालयमा यो प्रविधि परीक्षण गरिएको हो। जन नमुना माध्यमिक विद्यालयमा छतमा सेतो रङ लगाई कक्षाकोठाभित्र र बाहिर थर्मोमिटर राखेर दैनिक तापक्रम मापन गरिएको छ। शिक्षक तथा विद्यार्थीका अनुभवअनुसार रिफ्लेक्टिभ पेन्ट लगाइएको कक्षाकोठामा तापक्रम कम रहेको पाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरसिंह चौधरीले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने सम्भावना घटेको बताए ।
प्राक्टिकल एक्सनका जलवायु उत्थानशील कार्यक्रम प्रमुख विक्रम रानाका अनुसार तातो हावा अर्थात् लू बाट विद्यालय शिक्षा प्रभावित हुन नदिन परीक्षणका रूपमा ‘इलास्टोमेरिक पेन्ट’ प्रयोग गरिएको हो। उहाँका अनुसार यो रङले भवनले सोस्ने ताप १८ देखि २० प्रतिशतसम्म परावर्तन गर्ने वैज्ञानिक आधार छ।
हाल १४ विद्यालय लक्षित गरिएकोमा चार विद्यालयमा यो प्रविधि लागू भइसकेको छ। विद्यार्थीलाई नै रङ लगाएको र नलगाएको कोठाको तापक्रम मापन गराएर यसको प्रभाव अध्ययन गरिँदैछ। कम लागतमा प्रभावकारी समाधान देखिएकाले यो प्रविधि एसी वा फ्यानको पहुँच नभएका विद्यालयका लागि दिगो विकल्प बन्न सक्ने विश्वास गरिएको छ।
गत वर्षको चरम गर्मीपछि गरिएको अध्ययनको प्रारम्भिक नतिजाले कक्षाकोठाको तापक्रम करिब दुई डिग्रीसम्म घटेको देखाएको छ। आगामी दिनमा गर्मी उत्कर्षमा पुगेका बेला पनि यसको प्रभावकारिता अवलोकन गरिने परियोजनाले जनाएको छ। प्रभाव सकारात्मक देखिएपछि स्थानीय सरकार अन्य विद्यालयमा पनि यो प्रविधि विस्तार गर्न अग्रसर देखिएको छ। बेलौरी नगरपालिका–५ का वडा अध्यक्ष लालबहादुर चौधरीले यसको प्रारम्भिक नतिजा उत्साहजनक भएकाले अन्य विद्यालय तथा भवनमा पनि प्रयोग गरिने बताए।
कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित जनजागृति माध्यमिक विद्यालय र बर्दियाको गुलारिया नगरपालिका–१२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि यस्तै पेन्ट लगाइएको छ। विद्यार्थीहरूले तापक्रम मापन गर्ने सीप सिकेका छन् र कक्षाकोठामा तुलनात्मक रूपमा कम गर्मी महसुस भएको बताएका छन्। शिक्षकहरूका अनुसार छतमा पेन्ट लगाएपछि पाँच डिग्रीसम्म र कक्षाभित्र तीन डिग्रीसम्म तापक्रम घटेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
अत्यधिक गर्मी र लू न्यूनीकरणका लागि विद्यालयमा गरिएको यो प्रयास प्रभावकारी प्रमाणित भएमा तराईका अन्य विद्यालयसँगै सार्वजनिक तथा सरकारी कार्यालयहरूमा पनि विस्तार गर्न सकिने सम्भावना देखिएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले जलवायु उत्थानशील प्रविधिमा बजेट छुट्याउनु आवश्यक देखिन्छ।


प्रतिक्रिया दिनुहोस्