काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्समा अध्यक्ष पुरुषोत्तमलाल संघई र दुइजना सञ्चालक समिति सदस्यतको वैधानिकतामा प्रश्न उठेपछि बिमा प्राधिकरणले छानबिन सुरु गरेको छ । विवादपछि बिमा प्राधिकरणले यसबारे सम्पूर्ण विवरण माग गरेको छ ।
के भएको थियो ?
नेपाल लाइफ इन्स्योरेन्सको २६ औँ साधारण सभा २०८२ पुस १९ गते वीरगञ्जमा भएको थियो ।
सधारण सभाबाट तीन जना सञ्चालक समिति चयन भए । कम्पनी प्रर्वधकको तर्फबाट गोविन्दलाल संघई,कमलेश अग्रवाल, विवेक अग्रवाल सञ्चालक समितिमा चयन भए ।
संघईलाई अध्यक्ष बनाइयो र सपथ ग्रहणका लागि बिमा प्राधिकरणलाई आग्रह गरियो ।
बिमा प्राधिकरणले मागेका विवरणमध्ये प्रहरी रिपोर्ट गोविन्दलालले बुझाउन सकेनन् । स्रोतका अनुसार नेपाल लाइफले तत्कालै गोविन्दलाललाई सपथग्रहणको अनुरोध गरेको थियो ।
प्राधिकरण स्रोतले भन्यो,“उहाँहरूले अध्यक्ष ज्यू(गोविन्दलाल संघई) विदेश जानुपर्ने भएकाले छिटो सपथ ग्रहण गराइदिनुप¥यो भन्नुभएको थियो तर प्रहरी रिपोर्ट ल्याउन नसकेपछि उहाँहरू हतारिनुको कारण खुल्यो । उहाँले पछि प्रहरी रिपोर्ट ल्याउन सक्नुभएन र सपथ ग्रहण हुन सकेन ।”
यसअघि नेपाल लाईफका सूचना अधिकारी विनोद भुजेलले बिरामीका कारण सपथ ग्रहण गर्न ढिलाई भएको र पछि स्वास्थ्य ठिक नभएपछि नयाँ अध्यक्ष चयन गरिएको टक्सार न्युजसँग दाबी गरेका थिए ।
गोविन्दलाललाई नै अध्यक्ष बनाउन नेपाल लाइफमा निकै कसरत भएको थियो । जसका कारण झण्डै दुइमहिना कम्पनी अध्यक्षविहिन हुन पुग्यो ।
गोविन्दलालले सपथ ग्रहण गर्ने वातावरण नभए पछि २०८२ माघ २१ गते नेपाल लाइफले कमलेश अग्रवाल र विवेक अग्रवालले सपथ ग्रहण गरेर पदभार गरेको पत्र सम्बन्धित निकायमा पठाएको छ । जाबकि यो बिचमा अध्यक्ष नै नियुक्त भएको छैन र अध्यक्षको हैसियतमा कसैले सपथ लिएको देखिदैन ।
बिमा ऐन अनुसार बिमा कम्पनीका अध्यक्षले प्राधिकरणका समक्ष र सदस्यले बिमा कम्पनी अध्यक्ष समक्ष सपथ लिनुपर्ने स्पष्ट व्यवस्था छ । नेपाल लाइफमा भने २०८२ पुस १९ देखि २०८२ फागुन २५ गते नयाँ अध्यक्ष चयन नहुँदासम्म अध्यक्ष पद खाली रहेको थियो ।
यस्तो अवस्थामा नयाँ कम्पनी सञ्चालकले सपथ लिएको भनेर गलत विवरण सम्बन्धित निकायलाई जानकारी गराएको देखिन्छ । बिमा प्राधिरण स्रोतले भन्यो,“यसमा समस्या भएकै छ । यो बिचमा अध्यक्ष नहुँदा सदस्यको सपथ ग्रहणको सम्भावना हुने कुरै भएन ।”
गोविन्दलाललाई अध्यक्ष बनाउने कसरत पुरा नभएपछि २०८२ फागुन २४ गते बसेको नेपाल लाइफ इन्सोरेन्सको सञ्चालक समिति बैठकबाट गोविन्दलाल संघईको सञ्चालक समिति सदस्यको हैसियतमा दिइएको राजीनामा स्वीकृत गरेको देखिन्छ ।
गोविन्दलाल संघई सञ्चालकमा चयन भए पनि सपथ ग्रहण नै गरेका छैनन् । सपथ ग्रहण नगरेको अवस्थामा राजीनामा स्वीकृत भन्ने विषय नै नहुने बिमा प्राधिकरणका अधिकारीहरूको भनाई छ ।
अध्यक्ष र दुइजना सञ्चालकको वैधानिक हैसियत के हो ?
सपथ ग्रहण नै नभएर दुइजना नयाँ सञ्चालक कम्पनीको निर्णयमा सहभागि भएको देखिन्छ ।
२०८२ फागुन २४ गते गोविन्दलाल संघईको राजीनामा स्वीकृत गर्दा र नयाँ सञ्चालक समिति सदस्य पुरुषोत्तमलाल संघईलाई नियुक्त गर्दा तथा फागुन २५ गते अध्यक्ष चयन गर्दा पनि सपथ नलिएका सञ्चालक समिति सदस्यको सहभागिता देखिन्छ । यो विवरण हेर्दा सदस्यदेखि अध्यक्षसम्मको वैधानिकतामा प्रश्न उठेको छ ।
विरगञ्जको साधारण सभापछि नेपाल लाइफ इन्स्योरेन्समा वहालवाला तीनजना मात्रै सञ्चालक देखिन्छन् ।
पब्लिकका तर्फबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, शर्मिला श्रेष्ठ महर्जन साधारण सभापछि सञ्चालक छन् । अहिले अध्यक्षसहित ६ जना सञ्चालक रहेको कम्पनीको वेवसाइटमा देखिन्छ । यो हेर्दा पुरुषोत्तमलाल संघईलाई सञ्चालक नियुक्ति गर्दा सञ्चालक बोर्डको बहुमत थिएन । कानुनअनुसार पुरुषोत्तमलाललाई सञ्चालकमा नियुक्त गर्दा र अध्यक्षमा नियुक्त गर्दा कोरम पुगेको देखिदैन ।
बिमा प्राधिकरणको उच्च श्रोतले भन्यो,“ अध्यक्ष र दुइजना सञ्चालक तथा उहाँहरूले गरेको निर्णयबारे प्रश्न उठेको छ । हामीले जानकारी मागिसकेका छौँ । यसमा के गर्न सकिन्छ हामी हेर्छौँ।
नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बिनोद बुझेलले सुरुमा गोविन्दलाल संघइ बिरामी भएर सपथ ग्रहण गर्न नसकेको बताए । पछि थप विवरण माग्दा सम्पर्कमा आएनन् ।
सञ्चालक समिति सदस्य रहेका कमलेश अग्रवालले यसमा केही गलत नभएको संक्षित प्रतिक्रिया दिए ।
बिमा प्राधिकरणले भने केफियत देखिएको भन्दै नयाँ सञ्चालक चयनपछि भएका निर्णय र गतिविधिको विवरण मागेर छानबिन सुरु गरेको स्रोतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्