निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा (फाेटाे फिचर)


काठमाडाैँ । नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसी निर्णयलाई अस्वीकार गरेको छ । बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

यसअघि शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका कार्यकर्ताहरू आयोग परिसरमा विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले नाराबाजी गर्दै आयोगको निर्णयको विरोध गरेका थिए भने गगन थापा पक्षले खुशीयाली मनाएको थियो । देउवा पक्षले देशव्यापी प्रदर्शन र आन्दोलनको चेतावनीसमेत दिएको छ ।

नेपाली काँग्रेसमा गत पुसमा विशेष महाधिवेशनको माग उठेपछि विवाद सुरू भएको थियो । ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आयोजना गरी गगन थापालाई सभापति चयन गरिएको थियो । देउवा पक्षले भने उक्त महाधिवेशनलाई विधानविपरीत भएको दाबी गर्दै आएको छ ।

आयोगले पार्टी विधानको धारा अनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन वैधानिक हुने आधारमा थापा पक्षलाई मान्यता दिएको जनाएको छ ।

यो विवादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समेत असर पर्नसक्ने आशंका गरिएको छ । देउवा पक्षले पार्टी कार्यालय नछोड्ने र आफूहरू नै आधिकारिक भएको जिकिर गरेको छ । यता थापा पक्षले एकता र सहकार्यको अपील गर्दै अगाडि बढ्ने बताएको  छ।

काँग्रेसको यो विभाजनले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । दुवै पक्षले कानूनी र सडक संघर्षलाई तिब्र बनाउने संकेत गरेका छन् ।
न्युज एजेन्सी नेपाल