काठमाडौँ । लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।
लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन् ।
जसमा निम्नानुसारका मन्त्रालय, विभाग एवं निकायहरु रहेका छन् :
• भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
• भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
• वन तथा वातावरण मन्त्रालय
• नेपाल राष्ट्र बैंक
• अध्यागमन विभाग
• आन्तरिक राजस्व विभाग
• उद्योग विभाग
• खानी तथा भूगर्भ विभाग
• भन्सार विभाग
• श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
• विद्युत विकास विभाग
• कम्पनी रजिष्ट्रारको कार्यालय
• नेपाल दुरसञ्चार प्राधिकरण बोर्डले तोकेका अरु निकायहरुले पनि फोकल पर्सन तोक्न सक्नेछन् ।
बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुसँगको समन्वयमा कार्यविधिको मस्यौदा तयार पारेको छ ।
बोर्डले तत्कालका लागि सम्बन्धत मन्त्रालय/निकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेन्जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताए ।
अटोमेसनबाट काम हुने हुँदा प्रविधिको प्रयोग महत्वपूर्ण भएको उनको भनाइ छ । फोकल पर्सनहरुसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्नका लागि अपनत्व लिएर काम अघि बढाउन अनुरोध गरे ।
“लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ । यसमा सबै निकायहरुको साथ र सहयोग अपेक्षित छ”, ज्ञवालीले भने ।
विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायहरुबाट सेवा प्रवाह गर्नु पर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्यहरु चुस्त रुपमा हुन सक्ने बताए ।
अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालय/निकायको सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट हुनेछन् । उनीहरुले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ-आफ्नो निकायसँग सम्बन्धित कार्यहरु सम्पादन गर्नमा सहजीकरण गर्नेछन् ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७ र लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यहरु गर्न सहयोग पुर्याउनेछन् ।
यस्तै, उनीहरुले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिकृया दिने, कार्यरत निकाय तथा लागनी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायतका कार्यहरु गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्