स्याङ्जाकाे वालिङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते


काठमाडाैँ । स्याङ्जाकाे वालिङ–चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो करिब २ः२० बजे वालिङ नगरपालिका–७ धोडेपानीस्थित सडकखण्डमा वालिङबाट ढुङ्गा बोकेर चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा ट्याक्टर चालकसहित छ जना घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी केवरे स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक नेत्र बहादुर कुमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको प्रहरीले जनाएको छ।

उपचारका क्रममा वालिङ नगरपालिका–७ केवरे निवासी ६५ वर्षीय डोलराज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ निवासी ३५ वर्षीय राजकुमार चौधरीलाई दिउँसो ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते हुनेमा ट्याक्टर चालक पश्चिम नवलपरासी सरावल गाउँपालिका–१ आनन्दनगर निवासी २८ वर्षीय लालबहादुर सुनार, कैलाली लम्की नगरपालिका–५ पाँचचौर निवासी २२ वर्षीय श्याम चौधरी, सोही स्थानका ३९ वर्षीय लक्ष्मण चौधरी र दाङ राप्ती गाउँपालिका–५ निवासी ३५ वर्षीय हुकुमबहादुर दर्लामी मगर रहेका छन्। उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।