मुक्कुमलुङ केबलकार विरुद्धको संघर्षलाई उजागर गर्ने वृत्तचित्रको पहिलो प्रदर्शन सम्पन्न


काठमाडाैँ । पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध चलिरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरू: आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो सार्वजनिक प्रदर्शन सम्पन्न भएको छ।

काठमाडौंस्थित मण्डला नाटकघरमा आयोजित प्रदर्शन कार्यक्रममा साहित्य, संस्कृति तथा आदिवासी अधिकारका क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

करिब एक घन्टा लामो उक्त वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई उजागर गर्दै त्यससँग जोडिएको आदिवासी समुदायको गहिरो आस्था र अपनत्व प्रस्तुत गरेको छ।

साथै, केबलकार निर्माणप्रति राज्यले लिएको भूमिकाविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष, दृष्टिकोण र चिन्तालाई दस्तावेजीकरण गरिएको छ। वृत्तचित्रमा केबलकार परियोजनाले वन, वन्यजन्तु तथा समग्र पर्यावरणमा पार्न सक्ने सम्भावित असरमाथि समेत प्रश्न उठाइएको छ।

कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भाषा, संस्कृति र इतिहासबाट वञ्चित पारिँदै आएका समुदायहरूको संघर्षको कथालाई वृत्तचित्रले प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। उनले यस्ता सिर्जनाहरूले राज्य र समाजलाई आत्मसमीक्षा गर्न बाध्य बनाउने धारणा व्यक्त गरे।

किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानमा समेटिएका आदिवासी जनजातिका अधिकारसम्बन्धी सुन्दर प्रावधानहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको यथार्थतर्फ ध्यानाकर्षण गराए। उनले मुक्कुमलुङसँग जोडिएको आन्दोलनलाई केवल विकासविरोधी भनेर बुझ्नु गलत हुने उल्लेख गरे।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रजस्ता दस्तावेजहरू आफैंमा प्रमाण भएको बताइन्। यस्ता प्रमाणहरू मुक्कुमलुङ संरक्षणको विपक्षमा उभिनेहरूलाई देखाउन सकिए धारणा परिवर्तन हुन सक्ने सम्भावनाबारे प्रश्न उठाउँदै उनले राज्य संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याइन्।

वृत्तचित्रमा रबिनकुमार नाल्वो र जीवनप्रकाश शेर्माको सहभागिता रहेको छ। मच्छेदेवी गुरुङको सहनिर्देशनमा तयार गरिएको यस वृत्तचित्रको निर्देशन भानु बोखिमले गरेका हुन्।