काठमाडाैँ । सोलुखुम्बुमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरी बजारस्थित एनआइसी एसिया बैंक लिमिटेडको शाखा कार्यालयमा चोरीको प्रयास गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार गत पुस २९ गते राति करिब १:१० बजेको समयमा मुखमा मुखुण्डो लगाई बैंकको मुख्य ढोकाको चाबी फोडेर भित्र प्रवेश गरेका व्यक्ति दोस्रो तलामा रहेको बैंकको च्यानलगेट फलामको रडको सहायताले तोडफोड गरिरहेका थिए।
सोही घरमा भाडामा बस्ने व्यक्तिहरूले थाहा पाएर हो–हल्ला गरेपछि ती व्यक्ति फलामका रड घटनास्थलमै छाडेर फरार भएका थिए।
घटनापछि बैंकमा जडान गरिएको सीसीटीभी क्यामेरा फुटेजको आधारमा खटिएको प्रहरी टोलीले गत पुस २९ गते दिउँसो ३:०५ बजे थुलुङदुधकोशी गाउँपालिका–१ नेले बजारबाट सोही गाउँपालिकाको वडा नम्बर ७ देउसा बस्ने रामबहादुर राईका ३८ वर्षीय छोरा धनकुमार राईलाई पक्राउ गरेको हो।
उनलाई वारदातका क्रममा लगाएको कपडा तथा च्यानलगेट तोडफोड गर्न प्रयोग गरिएका सामग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा धनकुमार राई यसअघि पनि चोरीका घटनामा संलग्न रहेको खुलेको छ। गत माघ १० गते राति करिब १२ बजे थुलुङदुधकोशी गाउँपालिका–७ देउसा लुची बजारमा फ्रेमराज खत्रीले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको झ्याल फोडी पसलभित्र प्रवेश गरी नगद सात लाख एक रुपैयाँ तथा विभिन्न दरका एनटीसी र एनसेलका रिचार्ज कार्ड चोरी भएको घटनासँग समेत उनको संलग्नता रहेको प्रहरीको भनाइ छ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीको घर खानतलासी गर्दा चोरी भएका रिचार्ज कार्डमध्ये एनसेलको एक सय रुपैयाँ दरका १२ थान कार्ड लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। हाल पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्