स्याङ्जाकाे गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ


काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा परेका छन्।

जिल्ला स्याङ्जा, विरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकको सुरक्षामा खटिएका गार्डलाई माघ १३ गते बिहान चक्कु प्रहार गरी घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो।

प्रहरी चौकी विरुवाअर्चले, स्याङ्जाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिलाई विरुवा बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति स्याङ्जा जिल्ला, विरुवा गाउँपालिका–१ निवासी ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठ रहेका छन्।

उनलाई माघ १४ गते ‘ज्यान मार्ने उद्योग’ कसूरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका सुरक्षा गार्डको उपचार भइरहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।