सार्वजनिक कार्यक्रममा बेहोश भएका दिनेश सिटौलाको उपचारका क्रममा निधन


काठमाडौँ । सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला अचानक बेहोश भएका ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ ।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै उनको मृत्यु भएको जानकारी दिएको हो ।

अस्पतालका अनुसार कार्यक्रममा सहभागी भइरहेका बेला सिटौला अचानक बेहोश भएपछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल लगिएको थियो ।

त्यहाँ पुग्दा उनको श्वासप्रश्वास बन्द भइसकेको अवस्थामा रहेको र तुरुन्तै कार्डियो–पल्मोनरी रेससिटेशन (सीपीआर) सुरु गरिएको थियो ।

करिब ४५ मिनेटपछि मुटुको धड्कन फर्किएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । सो क्रममा उनलाई झट्का समेत देखिएको जनाइएको छ, जसको चिकित्सकीय व्यवस्थापन गरिएको थियो ।

त्यसपछि नेपाली सेनाको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ उनलाई एम्बुलेन्समार्फत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको अस्पतालले जनाएको छ ।

अस्पतालको आपतकालीन कक्षमा आइपुग्दा उनको अवस्था अत्यन्त गम्भीर रहेको थियो । चिकित्सकीय परीक्षणका क्रममा उनको चेतनास्तर (जीसिएस) अत्यन्त न्यून, रक्तचाप उच्च तथा आँखाका नानी फराकिलो र प्रतिक्रिया नदिएको अवस्थामा रहेको उल्लेख गरिएको छ ।

गम्भीर सब–अरेनहाइड हेमोरेज देखिएपछि स्थापित चिकित्सकीय प्रोटोकलअनुसार क्रिटिकल केयर तथा न्यूरोसर्जरी टोलीको संयुक्त निगरानीमा उनलाई आइसियूमा भर्ना गरिएको थियो ।

प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्स देखिएपछि थप ४८ घण्टा निरन्तर अनुगमन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

आइसियूमा रहँदा उनलाई डायबिटिज इन्सिपिडसको समस्या पनि देखिएको र त्यसको पनि तत्काल उपचार गरिएको थियो । तर गम्भीर सघन उपचारका बाबजुद ४८ घण्टासम्म उनको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नआएको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने सङ्केत नदेखिएको अस्पतालले स्पष्ट पारेको छ ।

चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्यक्षमता परीक्षणका लागि ‘एप्निया टेस्ट’ गरिएको थियो जसको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ । स्वतः श्वासप्रश्वास नदेखिएपछि आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा सिटौलालाई मृत घोषणा गरिएको हो ।