रास्वपामा विचार होइन, सत्तामा पुग्ने हतारो मात्रै छः विप्लव


काठमाडाैँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ भनिएका पार्टीहरू सत्तामा पुग्ने हतारोमा लागेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उराल्दै जनतामा भ्रम छर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको मुख्य उद्देश्य छिटो सत्तामा पुग्नु मात्रै भएको आरोप लगाएका हुन् ।

महासचिव चन्दले विचार र सिद्धान्तभन्दा व्यक्तिलाई प्राथमिकता दिने संस्कार पुँजीवादी सोचको उपज भएको जिकिर गरे ।
उनका अनुसार ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ’ भन्ने धारणा नयाँ भनिएका दलहरूको सिद्धान्तजस्तै बनेको छ। यस्तो प्रवृत्तिले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राख्दै लोकप्रियतावादलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको उनको भनाइ थियो।

उनले भने, “विचार केही होइन, पार्टी र नेता भए हुन्छ भन्ने कुरा नयाँ भन्नेहरूको सिद्धान्त हो। अहिले सिद्धान्त र विचारको कुरा गर्न हुँदैन भन्ने मानसिकता देखिन्छ। यो पुँजीवादीहरूको तरिका हो। मान्छे देखाउने, भ्रम छर्ने र हत्तपत्त सत्तामा पुग्ने सोच उपभोगवादी र लोकप्रियतावादी नारा हो, जुन गलत हो।”

उनले कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भन्ने आरोपलाई पनि अस्वीकार गरे । महासचिव चन्दले आफूहरू एकताबाट पछि हटेको भन्ने भ्रम जानाजानी फैलाइएको भन्दै त्यसलाई भाषाको तोडमोड गरी समाचार बनाउने काम भइरहेको प्रतिक्रिया दिए ।