कृषि सामग्री कम्पनीद्वारा ३० हजार मेट्रिक टन युरिया मलका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान


काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया मल आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको छ।

कम्पनीले युरिया मल खरिदका लागि आज उक्त सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूले विद्युतीय सरकारी खरिद प्रणाली मार्फत मार्च २०, २०२६ दिउँसो १:०० बजेसम्म बोलपत्र पेश गर्नुपर्नेछ।

सोही दिन दिउँसो २:०० बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ। बोलपत्र कागजात खरिद गर्न २० हजार रुपैयाँ दस्तुर तोकिएको छ भने बिड सुरक्षाका रूपमा ४ लाख ३७ हजार अमेरिकी डलर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

आपूर्ति हुने युरिया मल नेपालका तीन प्रमुख गोदामहरूमा पुर्‍याउनुपर्नेछ। विवरणअनुसार वीरगन्ज गोदाममा ११ हजार ५ सय मेट्रिक टन, विराटनगरमा ८ हजार ५ सय मेट्रिक टन र भैरहवामा १० हजार मेट्रिक टन मल आपूर्ति गर्नुपर्नेछ।

बोलपत्र ‘सिङ्गल स्टेज टु इन्भेलप’ प्रक्रियाबाट पेश गर्नुपर्नेछ, जसअन्तर्गत प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेश गर्नुपर्ने व्यवस्था छ।

छनोट भएको आपूर्तिकर्ताले प्रतितपत्र (एलसी) खुलेको मितिले १०७ दिनभित्र मल आपूर्ति गरिसक्नुपर्ने सर्त राखिएको छ। मलको गुणस्तर सुनिश्चित गर्न लोड हुने स्थानमै सोसाइटी जेनेरल डे सर्भेइलेन्स मार्फत परीक्षण गरिनेछ भने नेपाल भित्रिएपछि पनि स्वतन्त्र सर्भेयरबाट पुनः गुणस्तर परीक्षण गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।