काठमाडाैँ । नेपालकै अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा.लि.ले स्थापना भएको ३५ वर्ष पूरा गरेको छ।
विगत साढे तीन दशकदेखि अत्याधुनिक प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको कम्पनीले नेपाली स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको छ।
कम्पनीले औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै मुलुकलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सयौँ औषधिहरू नेपालमै पहिलोपटक विकास तथा उत्पादन गरी सफल इतिहास कोरेको जनाएको छ।
देउराली–जनताले जीवनरक्षक तथा दीर्घ रोग उपचारमा प्रयोग हुने क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ।
अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखानामार्फत अन्तर्राष्ट्रिय गुणस्तरका औषधिहरू नेपाली जनतालाई उपलब्ध गराउँदै आएको कम्पनीमा विश्वका विभिन्न मुलुकबाट उच्च शिक्षा हासिल गरेका वैज्ञानिक, प्राविधिकसहित करिब ६७५ जना कर्मचारी कार्यरत छन्।
उनीहरूको सीप, परिश्रम र नवीन सोचकै कारण देउराली–जनता नेपाली जनतामाझ विश्वासिलो नामका रूपमा स्थापित भएको कम्पनीको दाबी छ।
३५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले विगतका अनुभवको उपयोग गर्दै औषधिको गुणस्तर अझ सुदृढ बनाउने र औषधि उत्पादन क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
देउराली–जनता अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय प्रविधि आयात गर्ने नेपालको पहिलो र एकमात्र औषधि उद्योगका रूपमा परिचित छ। कम्पनीले cGMP मापदण्ड पूरा गर्दै ISO–9001, ISO–14001 तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार WHO–GMP प्रमाणपत्र प्राप्त गरेको नेपालको पहिलो औषधि कम्पनीको रूपमा पहिचान बनाएको छ। यी प्रयासहरूले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मार्ग प्रशस्त गरेको कम्पनीको भनाइ छ।
यसैबिच कम्पनीले उत्पादन विविधीकरण र क्षमता वृद्धि गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना निर्माण गर्ने निर्णय गरेको छ।
प्रस्तावित परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गरिने र आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नयाँ कारखाना सञ्चालनमा आएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्