रुट परमिट उल्लङ्घन गरी जथाभावी पार्किङ गर्ने १५ सवारी साधन कारबाहीमा


काठमाडाैँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा बाटो इजाजत पत्र (रुट परमिट) मा तोकिएको गन्तव्यसम्म नगई जथाभावी रूपमा सवारी साधन पार्किङ गरिएको पाइएको हो।

रुट परमिटको उल्लङ्घन गर्दै अव्यवस्थित पार्किङ गर्दा सडक आवागमन प्रभावित भएको भन्दै ट्राफिक प्रहरीले १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० को उपदफा ९२० ‘ख’ अनुसार कारबाही गरिएको हो।

यस किसिमको कार्यले सडक अनुशासन भंग हुनुका साथै यात्रु र अन्य सवारी चालकलाई समेत असहज बनाउने भएकाले नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले रुट परमिटको पालना गर्न, निर्धारित गन्तव्यमा मात्र सवारी सञ्चालन गर्न तथा जथाभावी पार्किङ नगर्न सवारी चालक र व्यवसायीलाई आग्रह गरेको छ।