अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमन तीव्र, केही फर्मलाई जरिवाना


काठमाडौँ । पछिल्लो समय खानेतेल, ग्यास, चामललगायत दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमी भएको भन्दै उपभोक्ता तहबाट आएका गुनासोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ध्यानाकर्षण भएको जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

विभागका अनुसार अत्यावश्यक वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, संचितकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै संयुक्त बजार अनुगमन निरन्तर रूपमा सञ्चालन भइरहेको छ। बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन हालका दिनमा अनुगमनलाई अझ तीव्र बनाइएको विभागले जनाएको छ।

अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, पैठारीकर्ता र वितरकलाई अनुचित नाफा नलिन र अस्वाभाविक रूपमा बढाइएका मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको विभागको भनाइ छ। सो क्रममा कानून विपरीत कार्य गर्ने केही फर्म तथा प्रतिष्ठानलाई प्रचलित कानूनअनुसार दण्ड–जरिवाना समेत गरिएको छ।

विभागले प्रचलित कानून विपरीत कुनै पनि क्रियाकलाप गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने विभागले जनाएको छ।