स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकहरूको भूमिका निर्णायक छ : आयुक्त ज.ब.रा.


काठमाडाैँ । निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रवार निर्वाचन आयोगमा आयोजित निर्वाचन पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त ज.ब.रा.ले पर्यवेक्षणमा खटिने प्रत्येक व्यक्तिले नेपालको संविधान, निर्वाचनसम्बन्धी कानून र वर्तमान राजनीतिक तथा निर्वाचनको वस्तुस्थितिबारे स्पष्ट बुझाइ राख्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उनले विगतमा सम्पन्न निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ–संस्थाहरूले निर्वाचन प्रक्रियाको विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै यस पटकको निर्वाचनमा पनि त्यस्तै जिम्मेवार भूमिका निर्वाह हुने अपेक्षा गरिएको उल्लेख गरे।

आयुक्त ज.ब.रा.ले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका तथा आचारसंहिताको पूर्ण पालना गर्न पर्यवेक्षकहरूलाई सचेत गराउँदै ती निर्देशिकामा पर्यवेक्षक र संघ–संस्थाले के गर्न हुने र के गर्न नहुने भन्ने स्पष्ट रूपमा उल्लेख गरिएको बताए।

“निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने, “निर्वाचनलाई सफल र पारदर्शी बनाउने जिम्मेवारी पनि तपाईंहरूमै निहित छ। संविधान, कानून र निर्वाचनको समग्र अवस्था बुझेर गरिएको पर्यवेक्षण प्रभावकारी हुन्छ।”

उनले पर्यवेक्षकहरूलाई निर्वाचन प्रक्रियाका महत्वपूर्ण सरोकारवाला तथा निर्वाचनका ‘आँखा’ का रूपमा चित्रण गर्दै एकदिने अभिमुखीकरण तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।