सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको भाउ पुनः उकालो लागेको छ। केही दिन अघिसम्म लगातार घटेको सुनको मूल्य आइतबार भने एक्कासि बढेर नयाँ स्तरमा पुगेको हो।

गत बिहीबार सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको थियो भने शुक्रबार पनि ४ हजार २ सय रुपैयाँले ओरालो लागेको थियो। लगातारको गिरावटपछि आइतबार भने सुनको भाउ फेरि ९ हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको भाउ २ लाख ९५ हजार २ सय रुपैयाँ रहेको थियो।

यस्तै आइतबार चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ कायम थियो।