समयावधि छँदै अपर तामाकोशी हाइड्रो पावर लिमिटेडका सिइओ गौतमको राजीनामा


काठमाडौँ । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ) मोहनकुमार गौतमले पदबाट राजीनामा दिएका छन् ।

गौतमले समयाअवधि नसकिदै पदबाट राजीनामा दिएका हुन् । पुस १ गते राजीनामा बुझाएका गौतम माघ २० गतेदेखि विदामा छन् ।

गौतमले भने,“सम्झौतामा छोड्न्भन्दा तीनमहिना अगाडि नै जानकारी गराउने व्यवस्थाअनुसार पुस १ गते राजीनामा पत्र बुझाएको थिएँ । माघ २० गतेदेखि विदामा छु ।”

गौतमले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका ११ औँ तहका गौतमलाई २०७९ चैत १४ गते बसेको लिमिटेडको बोर्ड बैठकले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनी चार वर्षका लागि सिइओ नियुक्त भएका थिए ।

गौतमको कार्यकाल अझै १ वर्षभन्दा बढी थियो । पछिल्लो समय अपर तामाकोशीमा प्राधिकरणका कर्मचारीभन्दा खुल्ला प्रतिस्प्रधाबाट प्रमुख कार्यकारी अधिकृत छनौट गर्नुपर्ने माग समेत उठेको छ भने लगानीकर्ताले लामोसमयदेखि लाभांश पाउन सकेका छैनन् ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण,सञ्चालन र व्यवस्थापन गर्न संस्थापना गरिएको कम्पनी हो ।

कम्पनीले प्रवद्र्धन गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ ।