काठमाडाैँ । निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ । विगत केही समयदेखि तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि देखिएको छ भने ग्यासको अभाव अझै हटेको छैन ।
खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि देखिएको छ भने चामलको समेत भाउ बढेको छ । यसले उपभोक्ताको भन्सासम्मै असर पर्ने देखिएको छ । बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताएका हुन् । उनका अनुसार त्यस्ता वस्तुहरू एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरूले बढाएर बेच्नुपरेको छ ।
उनकाअनुसार मुल्य वृद्धिको कारण बुझ्दा उत्पादक, आयातकर्ताले डलरको भाउ बढेर भनिरहेका छन् । कच्चा पदार्थको मूल्य बढ्दा पनि केही खाद्यपदार्थको भाउ बढेको आएको जानकारी आफूले पाएको तुलाधरले जानकारी दिए।
तुलाधरकाअनुसार बजारमा आपूर्तिमा केही असहजता हुँदा पनि बजार भाउ बढ्ने गरेको छ । मूल्यवृद्धि किन र कसरी भइरहेको छ भन्नेबारे वाणिज्य विभागले चासो देखाउनुपर्ने उनको भनाइ छ ।
बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । बजारमा कालोबजार, विचौलियागिरी बढ्दा सुपथ मूल्यमा नुन, ग्याससहित खाद्यवस्तु उपलव्ध गराउने जिम्मेवारी पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले विक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेशकुमार झाले साल्ट ट्रेडिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चामलहरुमा मूल्यवृद्धि नगरिएको बताए । उनकाअनुसार साल्टले नुन बेच्दै आएको छ, अहिले स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन छ । जुन ६ महिना बढिलाई यो स्टकले थेग्छ । यसमा कुनै पनि मूल्यवृद्धि हुनेछैन ।
साल्ट टेड्रिङको काठमाडौँ कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । अन्य कार्यालयमा पनि चिनीको स्टक छ । यो भएको स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा विक्री भइरहेको छ । बजारबाट साल्ट ट्रडिङले खरिद गरेर ल्याउने खाद्यवस्तुहरुमा मूल्यवृद्धि भए आगामी दिनमा भाउ बढ्ने सम्भावना रहेको उनले जानकारी दिए
उनकाअनुसार साल्टले अहिले खरिद गर्न लागेको तेल चामलहरूमा भाउ बढेर आउने सम्भावना छ । खासगरी कच्चापदार्थको मुल्यवृद्धिले गर्दा मुल्यवृद्धिको सम्भावना बढेर गएको उनले बताए ।
वाणिज्यले अनुगन बढायो
बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासापछि अनुगमन बढाइएको जानकारी दिए ।
विभागका निर्देशक तिवराले बजारमा कुनैपनि वस्तुको सहज आपूर्ति र सोको व्यवस्थापन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लागिपरिरहेको बताउँदै उपभोक्ताले वस्तुहरू सहजरूपमा पाएको अवस्था छ छैन् भन्ने सन्दर्भमा अनुगमन बढाइएको जानकारी दिए । तिवारीकाअनुसार कालोबजारी गर्ने, आपूर्ति श्रृंखलामा असर गर्नेहरुमाथि विभागले अनुगमन बढाएको छ ।
न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्