काठमाडौँ । आज महाशिवरात्रिको अवसरमा भक्तजनहरूलाई खाना, आवास र स्वास्थ्य सेवा उपलब्ध गराउने परम्परा पोदार कल्याण समाजले विगत २१ वर्षदेखि निरन्तर गर्दै आएको छ।
समाजका सदस्य रणजित पोदारका अनुसार यस सेवा यात्रा सानो पानी वितरण कार्यक्रमबाट सुरू भएको थियो र बिस्तारै चिया, बिस्कुट, भोजन, तातो पानी र आवास सुविधा सहितको व्यापक सेवा प्रदान गर्ने चरणमा पुगेको छ।
रणजित पोदारका अनुसार सेवा कार्यक्रम हिजो (शनिबार)बाट नै सुरू हुने र महाशिवरात्रिमा विभिन्न देशबाट पाहुनाहरू आउने भएकाले उनीहरूको बसोबास र खाने व्यवस्थाका लागि पूर्व तयारी आवश्यक हुन्छ।
“हामीले बिहानदेखि राति करिब नौ बजे सम्म सेवा दिइरहेका छौं। यसमा पोदार कल्याण समाजसँगै ‘सेवाको लागि साथीहरू’ र अन्य सहयोगी संस्था पनि सहभागी छन्,” उनले भने।
समाजका अध्यक्ष राजकुमार पोददारका अनुसार प्रत्येक वर्ष करिब १५–२० हजार भक्तजनलाई सेवा दिइन्छ। “खाना, चामल, पिठो, दुध, आलु, खिर लगायतका सामग्रीहरू सहयोगकर्ताबाट प्राप्त हुन्छन्। हामी खर्चको हिसाबमा आत्मनिर्भर भएर सेवा संचालन गर्छौं,” पोदारले भने ।
समाजले धर्मलाई निजी क्षेत्रको माध्यमबाट संरक्षण गर्दै आएको र सरकारी निकायबाट आवश्यक सहयोग न्यून रहेको बताए। “हामीलाई पशुपति विकास कोषसँगको सहकार्यले मात्र सुविधा मिलेको छ। त्यहाँका अन्य सरकारी निकायहरूले विशेष सहयोग गरेको छैन,” उनले थपे।
अध्यक्ष पोदारले महाशिवरात्रिको अवसरमा समाजले दिएको सेवालाई सनातन धर्मको परम्परासँग जोडेर हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार भक्तजनहरूको विश्वास र सहयोग नै सेवा निरन्तरता कायम राख्न प्रमुख कारक हुन्।
उनले भविष्यमा पनि समुदाय र भक्तजनको सहभागिताबाट यो सेवा निरन्तर जारी रहने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्